Sunday, February 24, 2013

भाषा बिकास

भाषा बिकास
'नेपाली भाषाको मौलिकता कसरी बचाउने?' बिषयमा लेख लेखेका नेपालका लेखक र लेखको बारेमा बोलेरै गुरुले सिङ्गै घन्टी सकाए । कालोपाटिमा कोरिएका चकका धर्साहरु पुरानो डस्टर मेटन खोज्दै गर्दा, कालोपाटी तिरै फर्केर गुरुले सुझाय,'नेपाली भाषा बिज्ञानका सबै विद्यार्थीले नपढी नहुने लेख हो यो। खोजेर पढ्नुहोला।'
'गुरु कुन पत्रीकामा कुन मितिमा छापिएको लेख हो?' मैले हावामा हात उचाल्दै गुरुलाई जिज्ञासा राखें ।
जवाफमा गुरुले इस्वी सम्बतमा मिती र एक नाम चलेको अङ्ग्रेजी दैनिक पत्रीकाको नाम कालोपाटिमै लेखिदिए ।

Monday, August 29, 2011

मुक्तक

मुक्तक
~१~
"छोरो सज्जन बनाउछु" हरेक बुवाको सपना हुन्छ
"उडेर आकाश छुन्छु" सिमल भुवाको सपना हुन्छ
सपना नहुने त के चिज होला र यो दुनियाँमा-
"बढेर सागर हुन्छु" सानो कुवाको सपना हुन्छ ।

~२~
आकाश एकनास रुन्छ भनेनी हुन्छ
सारा धर्तीको मैलो धुन्छ भनेनी हुन्छ
सावनलाई बुझ्ने तरिका बेग्ला बेग्लै-
उदासीमा धर्ती छुन्छ भनेनी हुन्छ ।।

~३~

हिमालहरु अझै अग्ला हुनेछन्
आधा जती छन सग्ला हुनेछन्
पाखुरामा जाँगर फल्दाको दिन-
झुपडीहरु सबै बंगला हुनेछन् ।।

Thursday, December 9, 2010

मुक्तक

मुक्तक
~१~
टेकेको धर्ती जति छ,नटेकेको झन कती कती
देखेको कुरा जती छ,नदेखेको झन कती कती
जती चिट्ठी लेख्दै गयो,उती यस्तो लाग्दो रै छ -
लेखेको कथा जती छ,नलेखेको झन कती कती ।।

~२~
पराइको चुरी फुरी बढेको छ
जताततै हावा हुरी बढेको छ
जब तौल घट्दै गयो खल्तीको-
तिम्रो मेरो बिचको दुरी बढेको छ ।।

~३~
डालिको माया मार्ने चरीको कुरा नगर
कल्पनाकी सुन्दरी परीको कुरा नगर
बाढीले लतारेको,झुप्रोको याद आउछ-
भो भैगो साउने झरीको कुरा नगर ।।


~ बिस्नु प्रवा सापकोटा
दमेक,बाग्लुङ
२०६७-०४-१७

~गजल~

~गजल~
छुट्टीएर एक्लै बाँच्दा साथ दुखेको छ
बोतलको रक्सी भित्र मात दुखेको छ

राती एक्लै बिस्तारामा रुने बिधुवाको
सम्झनामा त्यही सुहागरात दुखेको छ ।

टिप्नेहरु सँगै जान्छन सजिएर फूलहरु
यता केवल डालि सँग पात दुखेको छ ।

बेइमानीले जता ततै राज गर्न थाले पछी
गल्ली माथि इमानको खात दुखेको छ ।

जती धेरै बर्सेपनि ननिभेर मनको अगो
साउनको सिमसिमे बर्षात दुखेको छ ।

~मुक्तक~

~मुक्तक~
~१~

सम्झनाको भेटी राखी रित्तो मनको भाँडामाथि
म फेरुला सास फेदिमा तिमी पुग्नु डाँडामाथि
जुन धर्तिमा तिम्रो कोमल पाउ चल्मलाउछ
फूलै फूल होस् जतततै मै हिंडुला काँडामाथि ।।

~२~

औंसिको रात आकाशमा जुन आए जस्तै भयो
चिनी राखी तरकारीमा नुन आए जस्तै भयो
आनायसै तिमी आउँदा गोधुलिमा मेरो सामु
भुइँ ढलेको मुढोलाई मनसुन आए जस्तै भयो

~३~

न त सुगम छौ तिमी
न त दुर्गम् छौ तिमी
र पनि यस्तो लाग्छ-
साह्रै अनुपम छौ तिमी ।।

~मुक्तक~

~मुक्तक~
~फूलको बारेमा~
~क~
आजभोली फूलहरु आँफै ससस्त्र छन्
फूलका सनातन आस्थानै अस्त्र छन्
फूलको बस्त्रमा काँडाको खेती गर्नेहरु
गल्ली चोक चोकमा यत्रतत्र सर्बत्र छन् ।।
~ख~

ढुंगै ढुङ्गाको शहरमा गएपनि
लाटो बुङ्गाको शहरमा गएपनि
आफ्नो दुख्ख आफैसँग हुँदो रैछ -
फूलको थुङ्गाको शहरमा गएपनि ।।

~पहिलो डेटिङ प्यारको~
~क~

मैले छुँदा तिमी लज्जावती झैँ झस्केकी थियौ
सामु पुग्दा तिमी रक्तिम गुराँस मस्केकी थियौ
त्यो दिन मैले बिसाएथें गुलाबी सवाल प्यारका
तिमीले पनि खुबै रुमानी जवाफ पस्केकी थियौ ।।

Thursday, May 6, 2010

~ फेसबूक आइ-डी ~

~ फेसबूक आइ-डी ~
लघु कथा

~ फेसबूक आइ-डी ~

जुन दिन उसले आफ्नो फेसबूकमा आइ.डि खोली उ कुनै नुतन आलो काँचो लेखकको कृति प्रसिद्ध प्रकाशनले छापिदिए जत्तिकै खुशी थीइ । किनकि उसलाई आफ्ना सिर्जनाहरु प्रस्तुत गर्ने मन्च भेटें जस्तो लागेको थियो ।

उ राम्रो कबिता लेख्थी । उसका कथाहरु पनि उस्तै राम्रा थिए तर उसको असली चिनारी त गीतकार थियो । साह्रै राम्रा गीतहरु रचना गर्थी उ । तर उसका गीतहरु केबल सिरानी अग्लो बनाउने बस्तुहरु बाहेक केही हुनसकेका थिएनन किनकी न उसले कुनै संगीतकारलाई चिनेकी थिइ, न कुनै साहित्तिक पत्रीकाको सम्पादकलाई ।

फेसबूकमा उसका सयौं साथीहरु भए । ति मध्ये एक लोकप्रिय गायक पनि थियो ।
एक दिन उसले आफ्नो फेसबूक नोटमा एक गीत गायकको नाममा ट्याग गरी ।
उसले प्रतिकृया लेख्यो "मलाई तपाईंको गीत साह्रै मनपर्यो मेरो आगामी एल्बममा म यो गीत गाउछु अनुमती छ?"
उसले गर्व साथ लेखिदीइ "छ।"
एक नयाँ गीतकारको लागि यो भन्दा बढी खुशीको खबर के हुन सक्थ्यो र ।
उसले गायकको फेसबूक इन बक्समा चिट्ठीहरु पठाइरही ।
उसले पठाएको हर चिठ्ठीको जवाफ दिन्थ्यो गायक पनि ।
गायकको नयाँ गीती एल्बम बजारमा आउने बेला नजिकिदै थियो।
उ आफ्नो गीतको काल्पनिक संगीत गुनगुनाउनामा ब्यस्त थीइ । अफ्ना चिनेजानेका सबैलाइ आफ्नो गीत बजारमा आउन लागेको प्रचार गरेकी थीइ ।
एक दिन कान्तिपुर दैनिकमा गायकको अन्तर्वाता छापियो । उसले पत्रीका किन्दा बित्तिकै अन्तर्वातामा नजर डुलाई । उसलाई लागेको थियो-"कतै मेरो बारेमा पनि बोलेको छ की?"
तर अन्तर्वाता नसक्दै ऊ छाँगाबाट खसे जस्तो बनी ।
गायकले अन्तर्वातामा भनेको थियो-"मेरो कुनै फेसबूक आइ.डि छैन । कुनै फटाहाले मेरो नाममा आइ.डि खोलेर मेरो बदनाम गरिरहेको छ । "

Saturday, May 1, 2010

गीत

गीत
उदास थियो घरको दैलो रुँदै थियो खरको छाना
तिमीलाई नै सोध्दै थिए गाँउघरका सबैजना ।।

बाटुलीले भन्दै थिइन्, सम्झि रुन्छु अधेंरीमा
हाँसो छैन हाँसो जस्तो, पानी छैन पधेंरीमा
माईला बाजे भन्दै थिए, गाँउ छैन गाँउ जस्तो
माझी बिना भूमरीमा तैरीएको नाउ जस्तो


चौतारीले भन्दै थियो झार पलायो काख माथि
छाँया बस्ने कोहि छैन,टाढा भयो हितको साथी
गोरेटोले भन्दै थियो, छाती माथि लेउ लाग्यो
पाराई आँउछ परेड खेल्दै आफ्नो भन्ने छेउ लाग्यो ।।

मुक्तक

मुक्तक
~1~
आकाशमाथि विश्वास गर दर्किनेछ कुनै दिन
त्यो बगेकै खोला होस् फर्किनेछ कुनै दिन
उल्टो-सुल्टो सुल्टो-उल्टो हुनेछ अवश्य
झुपडीसंग महल थर्किनेछ छ कुनै दिन ।।

~2~
सारा ग्रन्थहरुको सार नपढेसम्म
साहसी पाइलाहरु अधि नबढेसम्म
आँफूभित्रैको मान्छे जगाउन गाह्रो रैछ-
आँफूबिरुद्ध आफैं युद्ध नलडेसम्म ।।

~3~
कहिलै पनि नजितेको बाजी हूँ म
कहिलै काजी हुन नसकेको पाजी हूँ म
भुमरीमा डुङगा छ। भेलबीच साउनको–
एक्लै किनारामा उभिएको माझी हुँ म ।।

~4~
हिंड्दा-हिंड्दै बाटो भासियो कि कसो ?
शरीरभरि एजेरु टाँसियो कि कसो ?
धेरै भयो आँउछु भनी झुक्याएको तिम्ले-
साँच्चै गाँउको चोखो माया मासियो कि कसो ?

हावाले नै शीतलता दिन्छ, हावाले नै उडाउँछ पनि
पानीलेनै तिर्खा मेट्छ पानीलेनै फेरि बगाउँछ पनि
उज्याला अँध्यारा पाटाहरु कस्का हुदैनन् र माईली–
आगोले नै न्यानो दिन्छ फेरि आगोले नै डढाउछ पनि ।।

~6~
'बिनाबर्सात नै बाढी आयो' भन्यौ तिमीले
पिच रोडबीचमै झाडी आयो भन्यौ तिमीले
कनिकुथी लेखेको एउटा मुक्तक सुनाउँ भनेको
छेउ नपुग्दै साला गफाडी आयो भन्यौ तिमीले ।।

Thursday, December 24, 2009

माटो र मुटु

माटो  र मुटु
माटो

जहाँ पहाडले चुल्ठोमा,गुराँस सजाएको हुन्छ
जहाँ झरनाले पहरामा, बाजा बजाएको हुन्छ
हो, त्यही म जन्मेर हुर्की खेलेको आगन जहाँ–
तालमा आफ्नै मुहार हेर्दै,हिमाल लजाएको हुन्छ ।।


मुटु


बाँधि राखु भन्छु मन, फुक्छ कता कता
धरा छोडि बादल पारी, पुग्छ कता कता
न छाम्दा भेटिन्छ, न त हेर्दा देखिन्छ
एउटा घाउ भित्र भित्रै, दुख्छ कता कता ।।
– बिस्नु प्रवा सापकोटा

साँझ

साँझ
तिमीलाई कतै पर रोकेर आउछ साँझ
तिम्रा यादहरु मात्रै बोकेर आउछ साँझ
साँझ सँग धेरै गुनासो थियो,कहिले भन्नु
सधैं भरी नाशा मात्रै धोकेर आउछ साँझ ।।

Sunday, December 13, 2009

तीन मुक्तक

तीन मुक्तक
१
जव तिमी उदास हुन्छौ, मेरो जिन्दगीमा तुवाँलो छाउँछ
तिम्रो दिलमा घाउ लागे, मेरो जिन्दगीमा भुँइचालो आउँछ
तिमी मेरो कोहि होइन, आफ्नो भन्ने साईनो छैन् तैपनी–
जव तिमी मुस्कुराउछौ, मेरो जिन्दगीले उज्यालो पाँउछ ।।

२
बैसाख छ तर बसन्तको उमंग छैन
गुराँस फुल्छ, तर राताम्य रंग छैन
तिमी नभए पछि यस्तै यस्तै लाग्छ –
खोजी हेर्दा आफ्नै मुटु आफै संग छैन ।।

३
तिमी संग नजानिदो साईनो, जोडेर आएछु म
सारा आदिम सम्बन्धहरु, तोडेर आएछु म
भेट्यौ भने त्यतै कतै, जतन साथ राख्दीनु है –
तिमी संगै आफ्नो मुटु, छोडेर आएछु म ।।

तीन वटा फूल

तीन वटा फूल
१
यो जिन्दगी जती खोतल्यो उति विचित्र छ
जस्को खल्ती गरुङ्गो छ उही मेरो मित्र छ
हो म बेस्या हुँ, शरिर पाल्न शरिर बेच्छु–
तर आत्मा बेचेकी छैन मेरो आत्मा पवित्र छ ।।

२
मरुभूमीमा पुगे पछि सिउँडी जिन्दावाद
घर भित्र पुगे पछि, बुढी जिन्दावाद
समय अनुसार त चल्नै पर्यो नी –
सत्तामा पुगे पछि,भुँडी जिन्दावाद ।।

३
मैले धान रोप्न खोजेछु पानी विनाको गरामा
मैले फुल रोप्न खोजेछु, ढुङ्गै ढुङ्गाको पहरामा
तिम्रो पछि लागे पछि अनुभुती हुँदैछ मलाई
मैले व्यर्थै तरुल खोजेछु, इस्कुसको जरामा ।।

Tuesday, December 8, 2009

बिस्नु प्रवा सापकोटा मर्यो

बिस्नु प्रवा  सापकोटा    मर्यो
जे भो रामै भो । कमसेकम अबदेखि उसको घिनलाग्दो अनुहारको दर्शन गर्नु त पर्दैन नि एकाबिहानै । संसारमा कस्ता कस्ता मान्छे भेटिन्छन् भने नि कसैको त अनुहार देख्दा पनि साइत बिग्रिन्छ । मेरो लागि ऊ त्यस्तै थियो ।
आफूलाई खुब जान्ने छु भन्ठान्थ्यो मोरो । खाली आफ्नो स्वाभिमानको कुरा गथ्र्यो । राष्ट्रका कुरा, समाजका कुरा गर्दा धोती फुस्केको थाहा पाउँदैनथ्यो । खाली देश, समाज विकास, उन्तति वस् । उसले यो बाहेक केही सोच्थ्यो भने मेरो बारेमा सोच्थ्यो होला । नत्र खाली त्यही बासी कुरा । मलाई यस्तो मान्छे भनेपछि मुखैमा थुकेर हिँडुँजस्तो लाग्थ्यो । आफ्नो बारेमा आफ्नो परिवारको बारेमा, सन्तानको बारेमा कहिले सोच्ने फुर्सद हुँदैन, खाली देश, समाज.........।
ऊ मरेछ एकाबिहानै रातोपुल स्थीत हेम्स् स्कुल अघि गाडीले किचेर । उसको शरीर लथालिङ्ग भाको छ रे । तैपनि उसको लास उठाउन दिएका छैनन् रे स्थानीयबासीले । भर्खर समाचार सुनेर थाहा पाएँ मैले । एफ्. एम. मा पनि आफ्नै आफन्त रैछन् क्यारे त्यसैले उसको मृत्युलाई खुब महङ्खव दिएर समाचार बनाइरहेका थिए, कहिँ केहि समाचार नपाएजस्तो । अरु समाचार छैनन् कि क्याहो सञ्चार माध्यमहरुमा । जाबो एउटा मान्छेलाई गाडीले किच्दा समाचार बनाउनुपर्ने । एउटा एफ्. एम्.ले त अझ बरिष्ठ साहित्यकार भनेर पो फुक्यो । मलाई त अचम्म पो लाग्यो उसले के लेख्न जान्या थियो र आफ्नो बारेमा बाहेक । लेख्ने नै हो भने त उसले भन्दा दशगुणा बढी राम्रो म पनि लेख्न सक्थें होला ।
म ऊसँग यतिविधि निच्चिनुमा पनि कारण छ । उसको कोठा र मेरो कोठा आमसे सामने थियो । ऊ बिहान उठ्थ्यो मैतिर हे¥थ्यो । साँझ स्कुलबाट फर्किन्थ्यो मैतिर हेथ्र्यो । मलाई भने उसका घिनलाग्दा आँखाले हेर्दा पनि घृणा जागेर आउँथ्यो । उसका दुबै आँखा फुटाइदिऊँ जस्तो लाग्थ्यो ।
मेरो वरिपरिका छर छिमेका सबैले भने उसको प्रशंसा मात्र गर्थे । कति न कतै खोट नभए जस्तो । म भने उसको प्रशंसा गर्ने एउटा वस्तु सम्म पनि भेटाउँदैनथें । न हेर्दा राम्रो छ, न कुनै राम्रो खुबी छ, न त कुनै राम्रो जागिर । जाबो एउटा बोर्डिङ स्कुलको मास्टर न हो त्यो । विचरा के पढाउन जानेहोला त्यसले । त्यो स्कुलको प्रिन्सिपलका पनि आँखा फुटेका रैछन् कि क्या हो ? नत्र त्यस भित्र के देखेर जागिर दिए होला ?
रुपको कुरा गर्दा कुरुपहरुको प्रतियोगिता गर्ने हो भने ऊ कहिल्यैं सेकेन्ड हुदैनथ्यो होला ।
कहिलेकाहिँ वरिपरि कोठामा बस्नेहरुले भन्थे तेरो बिहे गर्ने उमेर पनि पुग्यो अब बिहे गर न वाई । को संग विहे गर्ने ? कस्तो संग विहे गर्ने ? कहिले विहे गर्ने? यि प्रश्नको उत्तर खोज्दा कुरै कुरामा नाम आउथ्यो विस्नु । जब उहीहरु यो नाम उच्चारण गर्थे म उनीहरुलाई अदेश दिन्थें । तुरुन्त कोठा छोड्न भनेर ।
लाज नभएको नकचरो मेरो छेउ प¥यो कि बोल्न खोजिहाल्थ्यो । म भने मुख फर्काएर हिंड्थें । कति चोटि उसलाई हप्काएँ मैले तर ऊ चुपचाप सहन्थ्यो र हिंड्थ्यो त्यो दिन । अर्को दिन फेरि नजिक प¥यो कि बोलाई हाल्थ्यो । मलाई वाक्क लागेर डेरा नै अन्त सारौं कि भनेर कयौं पल्ट नसोचेकी पनि होइन तर भनेजस्तो कतै नपाइने फेरि ।
अब त ऊ अर्थात् विस्नु प्रवा सापकोटा म¥यो । अब उसको बोली सुन्नु परेन । डेर सर्नु पनि परेन । आनन्द भो ।
त्यो दिन म खाना खाएर अफिसतिर जाँदै थिएँ । मेरो अफिस गौशाला वानेश्वरबाट माइक्रो चढेर जानुपर्ने । बाटो पूरा जाम । रातो पुल त बल्ल बल्ल पुगें, तर त्यसभन्दा अगाडि त बाटो बन्द । कारण उही थियो, विस्नु प्रवा सापकोटाको मृत्यु । मान्छेहरु उसको प्रशंसा गर्दै हिंडिरहेका थिए ।
उसको लास त्यहिँ थियो छरपस्ट यता उता रगत बगेको थियो । रातो रगत जमेर कालो भइसकेको थियो । टाउको प्वाट्ट फुटेर बेहाल थियो । उसले लगाएको खैरो पाइन्ट, कालो रंगका तर दुईथरी चप्पल । कालो पृष्ठभूमिमा सेतो धर्काे भएको कमिज लगाएको उसको शरिरमा चुस्स परेको दाह्री जुँगा थिए । उसका आँखाले एकोहोरो आकाशतिर हेरिरहेका थिए । म ऊ म¥यो भन्ने कुरामा शड्ढा मान्दै हिंडें ।
ऊ मरेर मलाई एक पैसा नाफा नभएपनि ऊ बाँचेको भए मलाई थुप्रै घाटा अवश्य हुन्थ्यो । एक मन म मरेको मान्छेलाई गाली गर्दै अर्को मन मार्ने मान्छे धन्यवाद दिदैं म एक्लै अफिस तिर लागें ।
२–४ दिन पछि उसको भाइहरु पनि कोठा सरे । उसको कुरुप घिनलाग्दो आकृति मबाट हराउँदै जान थाल्यो । तर ऊ हुँदा म अशान्त हुन्थें । ऊ मरेपछि पनि म त्यति सजिलै शान्त हुन सकिन ।
आज मेरो जन्म दिन रहेछ । त्यो पनि एकाबिहानै एउटा कुरियरबाट आएका पार्सल भित्रको चिठी पढेर थाहा भयो । कुरियरबाट फोन आए पछि मेरो बहिनीले गएर पार्सल लिएर आई । मैले कसले पठाएको होला भनेर सोचिरहेंको थिए पार्सल नखोलुन्जेल । खोलेर हेरे पछि थाहा लाग्यो पार्सल त्यही बिस्नुको भाईले पठाएको रहेछ उसको दाजुले नर्मदै मेरो जन्म दिनलाई भनेर कारेका केहि तस्विरहरु र चिठी समेटेर ।
चिठी भित्र एउटा पुरानो फोटो र एउटा तेल रंगको चित्र थिए । त्यो पुरानो फोटोकी केटी जो गुन्यु चोली लगाएकी थिई, ठीक मजस्तै थिई । जिन्सको पाइन्ट र टिसर्टमा ठाँटिएकी म तेल रंगको चित्रमा मुस्कुराइरहेकी थिएँ । म आफ्नो रुप हेरेर आफैं दङ्ग परें । अहा कस्तो राम्रो चित्र कोरेको । कस्ती राम्री म । मभित्र अनेक खुल्दुलीहरु बढ्न थाले । कसले बनाए होला यति राम्रो चित्र । कहाँ होला यस्तो राम्रो चित्रकोर्ने चित्रकार? म उत्तर पाउन आतुर थिएँ । त्यसैले हतार हतार चिठी खोलें, चिठी यस्तो थियो ।

मेरी जिउँदी आमा ढोग,

म विस्नु प्रवा सापकोटा । तपाईंले नजन्माएको, माया नगरेको तर आफूलाई तपाईंको छोरा भन्न रुचाउने मान्छे । तपाईंलाई कसैले संसारमा कसलाई बढी घृणा गर्छाै भनेर सोध्यो भने तपाईंको उत्तर विष्नु प्रवा सापकोटा हुन्छ भन्ने कुरामा मलाई शतप्रतिशत विश्वास छ । तर ठीक उल्टो मलाई कसैले संसारमा सबैभन्दा बढी माया कसको लाग्छ भनेर सोध्यो भने तपाईंको नाम नै उत्तर हुनेछ । हुन त तपाईं र म उमेरले सँगसँगैका हौंला । यो उमेरमा माया भनेको ठिटाले ठिटीलाई गर्ने मायाकोे अर्थ लाग्न सक्छ । तर मेरो मायाको अर्थ फरक छ ।
आजभन्दा दश वर्ष अघि मेरो आमालाई कसैले बलात्कार गरेर हत्या ग¥यो । कुनै पापीको पाप कर्मले गर्दा म सधैंभरको लागि टुहुरो बनें ।
मान्छेलाई खै किन भएको भन्दा नभएको चिजको बढी चाह हुँदो रै छ । आज पनि आफ्नी आमा सम्झिँदा मेरो आँखामा आँसुको साउने त्रिशूली बग्न थाल्छ । आज आफ्नी आमाका धुमिल स्मृति र केही पुराना फोटाहरु बाहेक केही बाँकी छैनन् ।
तर जुन दिन मैले तपाईंलाई देखें, मैले मेरी गुमाएकी आमालाई फेरि पाएं जस्तो लाग्यो । म हरेक दिन तपाईंको अनुहार हेरेर आफ्नी आमाको मुहार र माया अनि स्नेहको अनुभूति गर्थें । सधैं म तपाईंसँग बोल्न खोज्थें । तर तपाईंले खै मलाई के सम्झनुहुन्थ्यो कुन्नि सधैं गाली गर्नुहुन्थ्यो । खैर केही छैन । म तपाईंको गालीलाई म आँफु सानो छँदा अर्काको फुलबारीमा सुन्तला चार्न जाँदा आफ्नी आमाले गरेको गाली जस्तै सम्झन्थें ।
हुन त यो चिठी मैले नलेखेको भए पनि हुने । यसको कुनै अर्थ छैन । तैपनि तपाईंको चित्र जो मैले मेहेनत गरेर कोरेको थिएँ र मेरी आमाको फोटो तपाईंलाई देखाउन मन लागेर मात्र यी सबै कुरा तपाईंलाई तपाईको जन्मदिनको दिन उपहार स्वरुप पठाएको छु । हेर्नुस् त मेरी आमा तपाईं जस्तो हुनुहुन्न र ? नराम्रो लागे च्यातेर फालिदिनुस है ।
सायद तपार्इंले यो चिठी पाउँदा म यो ठाउँबाट डेरा सरिसकेको हुनेछु होला तर पनि म तपार्इंलाई सधैं सम्झिरहनेछु । तर तपाईंले सोचेजस्तो नराम्रो मान्छे म हैन कि ?
अन्त्यमा तपाँई लाख बर्ष बाच्नुहोस् मेरो आयु पनि तपाँईलाई, जन्मदिनको उपलक्ष्यमा मेरो कोटी कोटी शुभकामना ।
उही
सधैं अनुहार देखाइरहने पराइ मान्छे

मलाई चिठी पढेपछि रिंगाटा लाग्ला जस्तो भयो । मैले आफ्नो संसार घुमिरहेको देखें । बिचरा ऊ चिठीमा जस्तो डेरा मात्र हैन, यो संसार नै छोडेर टाढा गइ सकेको थियो । मैले भगवान्सँग सयौं पल्ट माफ मागें, तर मलाई माफी दिने मान्छे यो दुनियाबाट पऽऽऽऽऽर थियो ।

कथा

कथा
कोशेली

लामो राजमार्ग पार गरेर आएका हेर्दै थकित जस्ता बसहरु संकेतसूचक विसौनीमा रोकिदैं थिए । बादल भरिएको कालो आकाश मुनि अजिङ्गर जस्ता काला सडकहरु लम्पसार परेर सुतेझैं देखिन्थे । मान्छेहरु आफ्नै किसिमले हाँजिर थिए । गयल थिए ।
सडककको एक छेउ आफ्नो छेउमा उभिएकी केटीतिर फर्केर सजल भन्दै थियो । “मलाई मर्न मन लाग्छ तर साहै्र डर लाग्छ”
“तिमी अचम्मको मान्छे छौ । म तिमीलाई बुझ्नै सक्दिन” । केटीले भनी
“मैले त मलाई बुझ्न सकेको छैन तिमीले कसरी बुझ्छौ”
“छोडिदेऊ यो वाहियात कुरा”
“जिन्दगी नै वाहियात छ”
“होला तर दारि किन पालेको”
“पालेको होइन नफालेको मात्रै”
“तिमीलाई सञ्चै त छ ? केटीले अचम्म मान्दै सोध्छे ।
“सञ्चो थिएन । अहिले चाहिँ सञ्चै छ”
के रे ?
“अँ तिम्रो उपस्थिति नै मेरो लागि ठूलो ओखती समान छ ।” सजल भन्दै थियो “म यही यात्रामा मर्न सक्छु । यो श्वास कुनै बेला फुत्किन सक्छ । तिम्रो प्रेमी हाड मासुको थुप्रोमा बदलिन सक्छ । यहाँ प्रत्येक पूmलहरु ओइलाएर झर्नकै लागि फुलेका हुन्छन् चाहे डालीमा ओइलाउन वा पूजाको थालीमा ओइलाउन वा केही समय कसैको शिरमा सजिएर ओइलाउन । म पनि ओइलाउन सक्छु । चुडिन सक्छु । अथवा तिम्रो बस्तीबाट म लुटिन सक्छु । जे होस् म मरेँ भने यी यो मैले ओगटेको ठाउँ शून्य बन्नेछ । म उभिएको ठाउँमा अरु केही उभिने छ तिमीसँग गफ गर्न । म तिम्रो जीवनमा सधैंभरि गयल हुनेछु ।
सजल बोल्दै गर्दा आकाशबाट पानी पर्न थाल्छ । मान्छेहरु ओत लाग्न हतारहतार यताउता छरिन्छन् । आडैका मान्छेले पिउँदै गरेको चुरोटको धुँवा केटीको मुहार अगाडि आएर मडारिन्छ । नाक खुम्च्याउँदै आफ्नो हातले धुँवा हटाउन खोज्छे ऊ । छेउमा रुझिरहेको गुलाबको झ्याङतिर हेर्दै सजलले भन्छ– “यी फूलहरुको भाग्यमा सधैं रुझ्न लेखेको हुन्छ । यिनीहरु ओभाना हुनै पाउँदैनन् । यो पुसको जाडोमा आफ्नो आङ मस्त सेकाउन पाउँदैनन् घाममा । घामभन्दा अगाडि धुलोले टालिन्छन् । या त कुनै अपरिचितको हातबाट चुडिन्छन् । कस्ता अभागी फूल जो फुलबारीमा वा पार्कमा नफुलेर मान्छेले हरपल कुल्चिने ठाउँमा फुल्छन् । तर थाहा छ यिनै फूलहरु सुन्दर लाग्छन् मलाई । स्वतन्त्र फूलहरु । फुलबारीमा फूलहरु पर्खाल वा काँडेतारको बारभित्र मात्रै फुल्छन् कसैले नदेख्ने ठाउँमा वा थोरैले मात्र देख्ने ठाउँमा ।
केटीले नबुझेझैं गरी उसको मुहारमा हेर्छे । काठमाडौं छोडेर पश्चिमतिर गुड्न लागेको बस देखाउँदै सजल भन्छ –“ऊ मेरो बस छुट्न लाग्यो । म जान्छु । हाम्रो भेट नहुन सक्छ अथवा हुन सक्छ । तिमीलाई भेट्न पाएँ, मज्जा लाग्यो । थाहा छ बरु तिमीसँग नभेटेको भए झन् जाति हुन्थ्यो होला ?
“किन” ? केटीले सोध्छे ।
त्यो त मलाई पनि थाहा छैन उसले भन्छ ।
एकदिन हिंड्दै गर्दा बाटोमा एउटा भत्किएको पुरानो मन्दिर छेउ वर्षाैंदेखि लडिरहेको एउटा काठको मुडामाथि बसेको केटाले त्यो केटीलाई प्याच्च भनेको थियो –“आहा ! तिमी त कस्ती राम्री रहिछौ, मलाई साह्रै मन प¥यो।” अनि उसको बसेको रिस जुरुक्क उठेको थियो । उसले भनेकी थिई – “पागल” । झन् ऊ हाँस्दै बोल्दै थियो – “हँ । तिमीले त मलाई राम्रै चिन्दी रहिछौं । हो त म पागल त हो नि । नरिसाऊ न राम्रो चिजलाई राम्रो भन्दैमा, प्रशंसा गर्दैमा रिसाउनुपर्छ र ? तिमीले मसँग विवाह गर । पोइल हिँड भनेको त छैन नि ?” त्यसपछि त ऊ पछाडि नफर्की भीरमा लर्केको बाबियोजस्तो आफ्नो कपाल हातको सहयोगले पछाडि फाल्दै सरासर आफ्नो बाटो लागेकी थिई । तर कालान्तरमा त्यही मान्छे त्यतिविघ्न मन पर्ला भनेर सोचेकी थिइन उसले । त्यही बाटो हिंड्दा हिंड्दै आखिर ऊसँग नजिक बनी ऊ । अझै पनि उसको मनमा लागिरहन्छ । पागल त पागल नै हो ऊ । तैपनि उसलाई औधि मन पराउँछे खै प्रेमको भुगोलमा किन ? भन्ने प्रश्नको जवाफ हुन्न रै छ क्यार !
ऊ अर्थात् सजल काठमाडौं छोडेर गाउँ जादैं थियो । भन्दै थियो – “अब म काठमाडौं आउँदिन । उतै गाउँतिर मेरै सपनाजस्ता फराकिला फाँटहरु डुल्छु । तितेपाती र बनमाराको गन्ध सुँघेर बस्छु । गुराँस हेरेर सकेछु भने रमाउँनेछु । भो आउँदिन तरुण सपनाहरुले आत्महत्या गर्ने तिम्रो शहरमा । उतै पनि छन् छन त लालुपाते अनुहार भएका, सुनखरी भन्दा राम्रा मुटुभरि मायाको हिमाल बोकेर पिठ्युँमा खरको भारी बोक्ने सानी कान्छीहरु तर पनि म तिमीलाई भुल्नेछैन । यी लेऊ यो मेरो सानो कोसेली तिमीलाई । सजाएर राख्नु मुटुभित्र ।” ¥यापिङ पेपरले मोडेको सानो पोको उक्त केटीको हातमा थमाइदिँदै ऊ भन्दै थियो – “यो उपहारको पचास भाग मसँग छ, पचास भाग तिमीलाई दिएको छु । म यही पचास भाग जतनको साथ जुनिभर मेरो अन्तिम श्वास रहुन्जेल जोगाइराख्नेछु । आशा छ तिमीले पनि त्यसै गछ्र्र्याै ।” कुद्नै आँटेको बसतिर जाँदै सजलले भन्यो – “लौ त म हिँडे है” ।
ऊ बसको ढोकोबाट भित्र जाउन्जेल त्यो केटीले हेरिरही । बसको सिटमा बसेको केही क्षणपछि सजलले झ्याल खोल्यो । पौषको चिसो हावा ह्वात्त बसभित्र पस्यो । मुन्टो बाहिर निकालेर उसले केटीलाई हे¥यो । उसको नाकमुख, गलबन्दीभित्र थियो र टोपीले दुबै कान छोपेको थियो । आफ्नो हात निकालेर केटीलाई बिदा भन्दै लाग्दा केटीले उसलाई यसरी बोलाएकी थिई मानौं सजल ऊभन्दा कोशौं टाढा थियो । सजल बसेको गाडी केटीको आँखाबाट टाढा थियो ।
बस टाढा भएपछि उसले पार्सललाई राम्ररी उचाली । “साह्रै हलुङ्गो छ के हुन सक्छ यो भित्र जसलाई मैले उसले झैं जुनीभरि सम्हालेर राख्नुपर्ने त्यही पनि जम्मा आधा भाग ।” ऊ हिंड्दै गर्दा सोचीरही तर जवाफ केही भेटिन । सायद औंठी राखिदिएको हुन सक्छ सुनको उसलाई लागिरह्यो । फेरि सोची हैन होला विचरा के को पैसाले किने होला सुन ? फेरि आधा औठी काम पनि त के हुन्छ र दिए होला ? उसको मनभरी तँछाड मछाड गरी एक अनेक प्रश्नहरु खेलिरहे ।
ऊ बसपार्क छोडेर आफ्नो कोठातिर जाँदै थिई । बाटोमा भेटिएका सबै मान्छेले उसलाई “ओइ भन न तेरो प्रेमीले के कोसेली दियो?” भनेर सोधेझैं लाग्थ्यो । उसको खुट्टा क्रमशः लुला हुँदै थिए । ऊ हतार हतार आफ्नो घर पुगी । कोठा खोली । वर्ष दिन नकोरेको कपाल जस्तो लथालिङ्ग कोठाको उसलाई केही चासो भएन । आडमा उसको वंैश जस्तै बगिरहेको बाग्मतीको गन्धले पनि उसलाई छोएको थिएन । साँझ परिसकेर जाडोसँगै उसको कोठामा झ्यालको पर्दाका छेउछाउबाट जुन छिरिरहेको थियो । गुँड फर्किसकेका चराहरु चुपचाप भैसकेको थिए । उसको मनमा भने आँधी चलिरहेको थियो । पार्सल खोल्नु अघि उसले सोची – “जेसुकै होस् प्रेमीले दिएपछि जे भए पनि बहुमूल्य हुन्छ मेरो लागि” सजल जसको अनुहारतर्फ फर्केर थुकेकी थिएँ मैले घृणाभावले त्यही घृणाको ब्याडमा मायाको बीज टुसायो । उसलाई मन पराएँ र पनि त पाउन सकिनँ । मोरो, धर्मशालामा बास बस्न आएको बटुवासरि एकरात समय मसँग बितायो र लाग्यो आफ्नै गन्तव्यतिर । खै मायाको दोसल्ला ओढाएर मेरो मनले उसलाई गरेको अभिनन्दन व्यर्थ भयो क्यार ! अब भेट असम्भव प्रायः छ । ” उसले लामो सुस्केरा हाली। “हैन त्यो पागललाई किन मन पराएँ हँ”?
उसले बल्ल पार्सल खोल्न थाली । सधैं पार्सल खोल्दा रमाउने उसका हातहरु आज कीन कीन काँपीरहेका थिए । उसले ¥यापिङ पेपर खोलेर फाली । अचम्म त्यो भित्र त कागज नै कागज बाहेक केही थिएन। यिनै कागजलाई पनि उसले ओल्टाइ पल्टाइ गरी हेर्न थाली । सेता कागजहरु सब खाली थिए । तर एउटा कागज भेट्टाइ उसले जहाँ लेखिएको थियो – “सम्झना” । यही शब्दोपहार तिमीलाई मेरो सम्झनालाई मरुन्जेल जोगाइ राख ल !
पढि सकेपछि उसलाई कस्तो न कस्तो अनुभूती भयो । उसलाई हाँसो उठ्यो वा रिस । ऊ आफैंले पनि थाहा पाइन।

Friday, November 27, 2009

गीत

गीत
कुन्नि कहाँ बिग्र्यो हाम्रो, पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

भुल्यौकीत जोड्न केहि गुणहरु मेरा
बिर्सियौकी घटाउन केहि दोषहरु तिम्रा
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

भएन कि भाग गर्दा दुबैलाई बराबरी
मिलेनकी गुणान गर्दा तल माथि नानाथरी
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

रुमाल

रुमाल
सिगै रुमाल दिदा पनि धागो मात्र ठाने पछि
केहि पल टाढा हुँदा पनि भाग्यो भन्ने ठाने पछि
कसो गरि बैमानी को मन राखु होला हजुर
फुलको थुंगा दिंदा पनि आगो भन्ने ठाने पछी .

Wednesday, November 25, 2009

फुलको जवानी

फुलको जवानी
कहिले दोबाटोमा धुलोले, मैलिन्छ फुलको जवानी
कहिले सुवास बनेर, फैलिन्छ फुलको जवानी
कहिले युवतिको केशमा त कहिले टिकाको रङ संगै
पूजाको थालीमा, ओइलिन्छ फुलको जवानी ।।

बिस्नुप्रवा सापकोटा

Thursday, November 19, 2009

गीत

गीत
भाइलाइ टोपी किन्दिएं बाबालाइ गलबन्दी
दिदिलाइ पछेउरी किन्दिन्छु आमालाइ चौबन्दी
बैनिले जामा किन्दिनु भन्थी
प्रियालाइ के किन्दिनु खै कुन्नी

बानरसी सारी किन्दिन पाए, लाएर माइत जाँदी हौ
पस्मिना खास्टो किन्दिन पाए, पुषको जाडो फाल्दि हौ ।
एकै थोक किन्दिन पनि, कत्तिमा मन छैन्
धेरै थोक किन्दिन पनि, खल्तिमा धन छैन ।

भाइलाइ टोपी किन्दिएं बाबालाइ गलबन्दी .................

मखमली टिका लैदिन पाए, निधार भरि सजाउथ्यौ होला
केही जोर चुरा किन्दिन पाए, हातमा छिनछिन बजाउथ्यौ होला
नकिन्दिउ भने नि धनसंग माया, जोखिन्छ झै लाग्छ
किन्दिउ भनेनि ऋणमा जीवन, पोखिन्छ झै लाग्छ

भाइलाइ टोपी किन्दिएं बाबालाइ गलबन्दी .................

बिष्णु प्रवा सापकोटा

Saturday, November 14, 2009

मुक्तक


मेरो साथ रहुन्जेल्, तिम्रो जिन्दगीमा कहिल्यै घाम लागेन
मेरा हर उत्सवहरु, तिमीलाई कहिल्यै धुमाधम लगेन
सधैको रित्तो खल्ती र कुरुप अनुहार कै कारणले शायद
यो मुटुको कन्चन माया, तिमीलाई कहिल्यै काम लागेन । ।