Tuesday, June 24, 2014

~ असार~

सुरक्षाकर्मीको लाठ्ठिचार्ज पछी
तितर बितर भएर
भागीरहेको भिड झैं
बादलका झुण्डहरु आकाशको
ओल्लो चोक र पल्लो चोक
भागीरहेछन ।

आफ्नो जवान लोग्ने मरेको खवरले
डाँको छोडेर रोइरहेकी  युवती झैं
मेघ गर्जन सहित बर्षाका बुँदहरु  
झरिरहेछन र हिलाईरहेछन धर्ती
भर्खर बुहारीले पोतेको आलो पिडीं झैं ।

बढी चिया पत्ति हालेको
दुध चिया जस्ता बाढिका लहरहरु
टिल्ल भएर घर फर्कदै गरेको जड्यहा झैं
यता उता कुदिरहेछन्
र चाटिरहेछन पहराको खिया ।

आफ्नै नङग्राले चोथिरेर
रक्ताम्मे पारेको
कुनै बहुलाहको अनुहार जस्तै  
पैरोले कोतरेको छ पाहाड ।

बैष्णवको निधारमा टल्कीने
सेतो तिलक जस्तै
सेता खहरेहरु
पहाडको छातीबाट
झरिरहेछन ओरालै ओरालो ।

छिपछिपे पानी भरिएको
आफ्नै जिन्दगी जस्तो  
बाँझो खेत
जोतीरहेछ हली दाई
र जिन्दगीका
सुख दुःख जस्ता थुम्का थुम्कीहरु
सम्माईरहेछन बाउसेहरु
र असारे भाका सुसेल्दै
सपना रोपिरहेछन खेतालाहरु ।

दमको रोगले थलिएर मरेका
साईला बाजेलाई
धाट पुराउन भन्दा
खेत हिलाउन बढी हतार छ
गाँउलेलाई
किनकी यो
असार हो ।  

~ बिस्नु प्रवा सापकोटा

Tuesday, June 17, 2014

मानचित्रमा नाम मेटिन लागेको एउटा गाँउ

मानचित्रमा नाम मेटिन लागेको एउटा गाँउ 

म त आफ्नै आँगनमा मृत्यु पर्खिरहेको 
पश्चिमको एउटा घाम 
मानचित्रमा नाम मेटिन लागेको एउटा गाँउ 
म संग रंगीन सम्झना 
ब्ल्याक एन्ड ह्वाइट बर्तमान र
केहि अनुत्तरित प्रश्न बाहेक केहि छैनन्।

मलाई थाह छैन
कस्ले भन्यो घामलाई बिहान मेरो धारोमा मुख धुन नआउनु भनेर ?
कसले अपहरण गर्यो डाँडाको चेपमा दुई खुट्टा उभाएर
बैसको उन्दाद पिउने इन्द्रेणीलाई?
कसले आदेश दियो गाँउको पात्रोबाट फागु पूर्णीमा हटाउन ?
कस्ले रोक्यो मेरो भिरालो कोप्चामा सुनाखरी फुल्न ?
कस्ले छिरायो आधुनिकताको भाईसर यि खोलाहरुमा?
कता बसाँइ सरे चराहरु?
किन खेल्दैन शितलहावाले पातहरु संग लुकामारी ?
यो माटोमा आजभोली किन उव्जिदैन अन्न?
अन्नको सट्टा बारीका झारहरु
किन सुनाउछन शोक गीतका केहि अन्तराहरु हावालाई ?
मेरो छातिलाई डोजरका नङराले चिथोरेर
आफ्नो राजमार्ग बनाउनेहरु को हुन ?
कस्ले झोस्यो खरको छानामा डढेलो ?
कस्ले खोस्यो मेरो हरियो बैभवता?

जवाफ छैनन् यी प्रश्नहरुको
कसलाई सोधुँ जवाफ रु
फोन गर्न वा यस यम यस पठाउन पनि
चराहरुको मोवाइल नं छैन म संग
न यो आधुनीकताको भाइरस हटाउने
भ्यालीड एन्टीभाइसर छ

एक मन सोच्छु
यति विध्न गर्ने आँट आफ्नै सन्तानले बाहेक
अरु कस्ले गर्न सक्छ?
अर्को मन सोच्छु
आफ्नै आमा बल्तकृत भएको व्लु फिल्म हेरेर
कसरी उत्तेजित हुन सक्छन र आफ्नै सन्तानहरु ?

तर जो होस
मेरो हरियो च्यादर चोरेर
किनेको कङक्रिटको धराहराले
कुनै दिन पुष माघमा
उसकै घाम छेक्ने छ ।

म त आफ्नै आँगनमा मृत्यु पर्खिरहेको
पश्चिमको एउटा घाम
मानचित्रमा नाम मेटिन लागेको एउटा गाँउ ।।


~ बिस्नु प्रवा सापकोटा
दमेक-१, बागलुङ
२०६९ चैत्र २०