Tuesday, November 3, 2009

मेरो दमेक


कुनै शाहीद्को सम्झनामा मौन धारण
गरिरहेको मान्छे जस्तै
चुपचाप उभिइरहेको छ
मेरो दमेक ।

कुनै निर्दोस् आँखा
जस्ता ताल बोकेर शिरमा
तल तल
बगिइरहेछन्
पैतलाका पसिनाहरु
कालीमा मिसिन

ढाडमा खुर्पेटोजस्तो
सिरबारी र कमल जैसी
बोकेर पारी धौलागिरी
हिमाललाइ जिस्काउदै
कम्मर मच्काउछ
मेरो दमेक

हजुर बाको
चोर औंला समातेर
हुर्केको फुच्छे
अहिले धुलो बाटोमा
मोटर कुदाउछ

आफु गरीब हुनुको पिडा
खप्न नसकेर हो कि शायद
अक्षरको मलमले घाउ निको नपारे पछी
मलेसिया,कतार,युरोप
उडनको लागि
पखेटा निर्माण गर्ने हतारोमा छ
मेरो दमेक ।

पैरोले घिसारेको पाखोमा
घाँस् काट्दै वाशिंट्न डि सि को
सपना देख्न थालेको छ यो
थाहा छैन अब आफ्नै हात काट्छ कि
सपना साकार पार्छ
मेरो दमेकले।