Advertisement |
लामो राजमार्ग पार गरेर आएका हेर्दै थकित जस्ता बसहरु संकेतसूचक विसौनीमा रोकिदैं थिए । बादल भरिएको कालो आकाश मुनि अजिङ्गर जस्ता काला सडकहरु लम्पसार परेर सुतेझैं देखिन्थे । मान्छेहरु आफ्नै किसिमले हाँजिर थिए । गयल थिए ।
सडककको एक छेउ आफ्नो छेउमा उभिएकी केटीतिर फर्केर सजल भन्दै थियो । “मलाई मर्न मन लाग्छ तर साहै्र डर लाग्छ”
“तिमी अचम्मको मान्छे छौ । म तिमीलाई बुझ्नै सक्दिन” । केटीले भनी
“मैले त मलाई बुझ्न सकेको छैन तिमीले कसरी बुझ्छौ”
“छोडिदेऊ यो वाहियात कुरा”
“जिन्दगी नै वाहियात छ”
“होला तर दारि किन पालेको”
“पालेको होइन नफालेको मात्रै”
“तिमीलाई सञ्चै त छ ? केटीले अचम्म मान्दै सोध्छे ।
“सञ्चो थिएन । अहिले चाहिँ सञ्चै छ”
के रे ?
“अँ तिम्रो उपस्थिति नै मेरो लागि ठूलो ओखती समान छ ।” सजल भन्दै थियो “म यही यात्रामा मर्न सक्छु । यो श्वास कुनै बेला फुत्किन सक्छ । तिम्रो प्रेमी हाड मासुको थुप्रोमा बदलिन सक्छ । यहाँ प्रत्येक पूmलहरु ओइलाएर झर्नकै लागि फुलेका हुन्छन् चाहे डालीमा ओइलाउन वा पूजाको थालीमा ओइलाउन वा केही समय कसैको शिरमा सजिएर ओइलाउन । म पनि ओइलाउन सक्छु । चुडिन सक्छु । अथवा तिम्रो बस्तीबाट म लुटिन सक्छु । जे होस् म मरेँ भने यी यो मैले ओगटेको ठाउँ शून्य बन्नेछ । म उभिएको ठाउँमा अरु केही उभिने छ तिमीसँग गफ गर्न । म तिम्रो जीवनमा सधैंभरि गयल हुनेछु ।
सजल बोल्दै गर्दा आकाशबाट पानी पर्न थाल्छ । मान्छेहरु ओत लाग्न हतारहतार यताउता छरिन्छन् । आडैका मान्छेले पिउँदै गरेको चुरोटको धुँवा केटीको मुहार अगाडि आएर मडारिन्छ । नाक खुम्च्याउँदै आफ्नो हातले धुँवा हटाउन खोज्छे ऊ । छेउमा रुझिरहेको गुलाबको झ्याङतिर हेर्दै सजलले भन्छ– “यी फूलहरुको भाग्यमा सधैं रुझ्न लेखेको हुन्छ । यिनीहरु ओभाना हुनै पाउँदैनन् । यो पुसको जाडोमा आफ्नो आङ मस्त सेकाउन पाउँदैनन् घाममा । घामभन्दा अगाडि धुलोले टालिन्छन् । या त कुनै अपरिचितको हातबाट चुडिन्छन् । कस्ता अभागी फूल जो फुलबारीमा वा पार्कमा नफुलेर मान्छेले हरपल कुल्चिने ठाउँमा फुल्छन् । तर थाहा छ यिनै फूलहरु सुन्दर लाग्छन् मलाई । स्वतन्त्र फूलहरु । फुलबारीमा फूलहरु पर्खाल वा काँडेतारको बारभित्र मात्रै फुल्छन् कसैले नदेख्ने ठाउँमा वा थोरैले मात्र देख्ने ठाउँमा ।
केटीले नबुझेझैं गरी उसको मुहारमा हेर्छे । काठमाडौं छोडेर पश्चिमतिर गुड्न लागेको बस देखाउँदै सजल भन्छ –“ऊ मेरो बस छुट्न लाग्यो । म जान्छु । हाम्रो भेट नहुन सक्छ अथवा हुन सक्छ । तिमीलाई भेट्न पाएँ, मज्जा लाग्यो । थाहा छ बरु तिमीसँग नभेटेको भए झन् जाति हुन्थ्यो होला ?
“किन” ? केटीले सोध्छे ।
त्यो त मलाई पनि थाहा छैन उसले भन्छ ।
एकदिन हिंड्दै गर्दा बाटोमा एउटा भत्किएको पुरानो मन्दिर छेउ वर्षाैंदेखि लडिरहेको एउटा काठको मुडामाथि बसेको केटाले त्यो केटीलाई प्याच्च भनेको थियो –“आहा ! तिमी त कस्ती राम्री रहिछौ, मलाई साह्रै मन प¥यो।” अनि उसको बसेको रिस जुरुक्क उठेको थियो । उसले भनेकी थिई – “पागल” । झन् ऊ हाँस्दै बोल्दै थियो – “हँ । तिमीले त मलाई राम्रै चिन्दी रहिछौं । हो त म पागल त हो नि । नरिसाऊ न राम्रो चिजलाई राम्रो भन्दैमा, प्रशंसा गर्दैमा रिसाउनुपर्छ र ? तिमीले मसँग विवाह गर । पोइल हिँड भनेको त छैन नि ?” त्यसपछि त ऊ पछाडि नफर्की भीरमा लर्केको बाबियोजस्तो आफ्नो कपाल हातको सहयोगले पछाडि फाल्दै सरासर आफ्नो बाटो लागेकी थिई । तर कालान्तरमा त्यही मान्छे त्यतिविघ्न मन पर्ला भनेर सोचेकी थिइन उसले । त्यही बाटो हिंड्दा हिंड्दै आखिर ऊसँग नजिक बनी ऊ । अझै पनि उसको मनमा लागिरहन्छ । पागल त पागल नै हो ऊ । तैपनि उसलाई औधि मन पराउँछे खै प्रेमको भुगोलमा किन ? भन्ने प्रश्नको जवाफ हुन्न रै छ क्यार !
ऊ अर्थात् सजल काठमाडौं छोडेर गाउँ जादैं थियो । भन्दै थियो – “अब म काठमाडौं आउँदिन । उतै गाउँतिर मेरै सपनाजस्ता फराकिला फाँटहरु डुल्छु । तितेपाती र बनमाराको गन्ध सुँघेर बस्छु । गुराँस हेरेर सकेछु भने रमाउँनेछु । भो आउँदिन तरुण सपनाहरुले आत्महत्या गर्ने तिम्रो शहरमा । उतै पनि छन् छन त लालुपाते अनुहार भएका, सुनखरी भन्दा राम्रा मुटुभरि मायाको हिमाल बोकेर पिठ्युँमा खरको भारी बोक्ने सानी कान्छीहरु तर पनि म तिमीलाई भुल्नेछैन । यी लेऊ यो मेरो सानो कोसेली तिमीलाई । सजाएर राख्नु मुटुभित्र ।” ¥यापिङ पेपरले मोडेको सानो पोको उक्त केटीको हातमा थमाइदिँदै ऊ भन्दै थियो – “यो उपहारको पचास भाग मसँग छ, पचास भाग तिमीलाई दिएको छु । म यही पचास भाग जतनको साथ जुनिभर मेरो अन्तिम श्वास रहुन्जेल जोगाइराख्नेछु । आशा छ तिमीले पनि त्यसै गछ्र्र्याै ।” कुद्नै आँटेको बसतिर जाँदै सजलले भन्यो – “लौ त म हिँडे है” ।
ऊ बसको ढोकोबाट भित्र जाउन्जेल त्यो केटीले हेरिरही । बसको सिटमा बसेको केही क्षणपछि सजलले झ्याल खोल्यो । पौषको चिसो हावा ह्वात्त बसभित्र पस्यो । मुन्टो बाहिर निकालेर उसले केटीलाई हे¥यो । उसको नाकमुख, गलबन्दीभित्र थियो र टोपीले दुबै कान छोपेको थियो । आफ्नो हात निकालेर केटीलाई बिदा भन्दै लाग्दा केटीले उसलाई यसरी बोलाएकी थिई मानौं सजल ऊभन्दा कोशौं टाढा थियो । सजल बसेको गाडी केटीको आँखाबाट टाढा थियो ।
बस टाढा भएपछि उसले पार्सललाई राम्ररी उचाली । “साह्रै हलुङ्गो छ के हुन सक्छ यो भित्र जसलाई मैले उसले झैं जुनीभरि सम्हालेर राख्नुपर्ने त्यही पनि जम्मा आधा भाग ।” ऊ हिंड्दै गर्दा सोचीरही तर जवाफ केही भेटिन । सायद औंठी राखिदिएको हुन सक्छ सुनको उसलाई लागिरह्यो । फेरि सोची हैन होला विचरा के को पैसाले किने होला सुन ? फेरि आधा औठी काम पनि त के हुन्छ र दिए होला ? उसको मनभरी तँछाड मछाड गरी एक अनेक प्रश्नहरु खेलिरहे ।
ऊ बसपार्क छोडेर आफ्नो कोठातिर जाँदै थिई । बाटोमा भेटिएका सबै मान्छेले उसलाई “ओइ भन न तेरो प्रेमीले के कोसेली दियो?” भनेर सोधेझैं लाग्थ्यो । उसको खुट्टा क्रमशः लुला हुँदै थिए । ऊ हतार हतार आफ्नो घर पुगी । कोठा खोली । वर्ष दिन नकोरेको कपाल जस्तो लथालिङ्ग कोठाको उसलाई केही चासो भएन । आडमा उसको वंैश जस्तै बगिरहेको बाग्मतीको गन्धले पनि उसलाई छोएको थिएन । साँझ परिसकेर जाडोसँगै उसको कोठामा झ्यालको पर्दाका छेउछाउबाट जुन छिरिरहेको थियो । गुँड फर्किसकेका चराहरु चुपचाप भैसकेको थिए । उसको मनमा भने आँधी चलिरहेको थियो । पार्सल खोल्नु अघि उसले सोची – “जेसुकै होस् प्रेमीले दिएपछि जे भए पनि बहुमूल्य हुन्छ मेरो लागि” सजल जसको अनुहारतर्फ फर्केर थुकेकी थिएँ मैले घृणाभावले त्यही घृणाको ब्याडमा मायाको बीज टुसायो । उसलाई मन पराएँ र पनि त पाउन सकिनँ । मोरो, धर्मशालामा बास बस्न आएको बटुवासरि एकरात समय मसँग बितायो र लाग्यो आफ्नै गन्तव्यतिर । खै मायाको दोसल्ला ओढाएर मेरो मनले उसलाई गरेको अभिनन्दन व्यर्थ भयो क्यार ! अब भेट असम्भव प्रायः छ । ” उसले लामो सुस्केरा हाली। “हैन त्यो पागललाई किन मन पराएँ हँ”?
उसले बल्ल पार्सल खोल्न थाली । सधैं पार्सल खोल्दा रमाउने उसका हातहरु आज कीन कीन काँपीरहेका थिए । उसले ¥यापिङ पेपर खोलेर फाली । अचम्म त्यो भित्र त कागज नै कागज बाहेक केही थिएन। यिनै कागजलाई पनि उसले ओल्टाइ पल्टाइ गरी हेर्न थाली । सेता कागजहरु सब खाली थिए । तर एउटा कागज भेट्टाइ उसले जहाँ लेखिएको थियो – “सम्झना” । यही शब्दोपहार तिमीलाई मेरो सम्झनालाई मरुन्जेल जोगाइ राख ल !
पढि सकेपछि उसलाई कस्तो न कस्तो अनुभूती भयो । उसलाई हाँसो उठ्यो वा रिस । ऊ आफैंले पनि थाहा पाइन।
0 comments: