Tuesday, August 11, 2015

रातो रुमाल

रातो रुमाल 


म सँगएउटा रातो रुमाल थियो
मेरो थोत्रो आस्कोटको खल्तीमा
पसिनाको गन्ध सुँघेर रमाउथ्यो 
म किसानको
एउटै सारथी 
एउटै सपना 
एउटै साहारा
एउटै आशा 
त्यै रातो रुमाल थियो .

त्यही रुमालमा बुनिएका थिए
मेरो आकाशका जुन ताराहरु 
त्यही फुलेको थियो 
मेरो धर्तिको सबैभन्दा सुन्दर फुल 


म थाके भने उकालीमा 
राता घामले पाके भने 
मेरो पसिना पुछिदिन्थ्यो 
सितलता हम्कीदिन्थ्यो 

उ मेरो सिरानी थियो 
मेरो सिरक थियो 
म रुदा भिज्थ्यो
मसंगैमेरो आँशु पुछिदिन 


हावामा फर्फाराउदै 
उ मेरो हरेक जीतमा
उत्सव मनाउथ्यो 


तर एकदिन 
मेरो खल्तीबाट 
एक्कासी
हरायो मेरो रातो रुमाल 


पछी थाहा पाएँ 
कसैले मेरो रुमाल
शहर लगेको छ
सोंचे
शहर पुगे पछी  
मेरो रुमालबाट हरायो होला
पसिनाको गन्ध
छर्किएहोला कुनै महँगो
बिदेशी अत्तर
र सजाइए होला नयाँ सुटको खल्तिमा ।  


कालन्तरमा 
एक दिन म दुखी किसानलाई 
युरिया मल खोज्न
शहर पुग्ने अबसर मिल्यो । 


त्यही बेला मैले फेरी भेटें
मैले हराएको मेरो रातो रुमाल


शहरका साँप जस्ता सडकको लम्बाइ
मेरा खाली पैतालाले नापिरहेको बेला
एक साघुँरो गल्लिमा
पुरानो घरको झ्यालबाट
बिस्तारै खस्यो भुइंमा
शिशिरमा रुखबाट
भुइ खसिरहहेको
पहेलो पात झै 
मैले त्यो रुमाल
मेरै हो भन्ने परैबाट चिनें ।  


भुइखसेको
मेरो भु.पु रातो रुमाल
हातले बिस्तारै उठाएँ
 रुमाल चिसो थियो 


चिसो रुमालमा
भर्खरै योन क्रिडा सकेर
कसैले पुछेको मनतातो शुक्रकिटआलै थियो । 


मैले नजर माथि उठाएँ
बुट्टे काठको झ्यालमा 
भद्दा लाली पोतेर 
एक तरुनी 
म तिर कुटिल
मुस्कान फ्याँकिरहेकी थियी ।।

  © बिस्नु  प्रवा सापकोटा
     दमेक-१ बाग्लुङ 
     २०६९-०४-२६ 

फेसबुकमा गाँउको तस्बिर

फेसबुकमा गाँउको तस्बिर



म भित्र
सम्भावानाका ढोकाहरु बन्द छन भन्ठानेर
शहर बसेका
मुग्लान पसेका
मेरै कोखका उत्पादनहरु
आक्कल झुक्कल
पर्यटक झै म कहाँ आइपुग्छन
एक सागर पसिनासँग साटेको
एउटा क्यामरा बोकेर

त्यसैले खिच्छन मेरो तस्बिर
अनि हतार हतार
फर्काउछन उनिहरुका बाङगा पैतालाहरु
उतै,
सपनाको देशतिरै

सहर पुगेर
त्यहि तस्बिर
टाँसिदिन्छन
फेसबुकको भित्तोमा

र तस्बिरलाइ
साइबर भूगोलका जनहरुले
लाइक ठोक्छन
कमेन्ट खासल्छन
'आहा! कस्तो राम्रो गाँउ'

मेरा सन्तान
तिनै कमेन्ट हेरेर मख्ख पर्दै
निकोटिनले पहेलिएको ओठ्को आगनमा
बिदेशी मुद्राले किनेको मुस्कान
प्रदर्शन गर्छन

के दिन आयो यस्तो?
मेरै सन्तानलाई
म भन्दा क्यामरामा कैद
मेरो तस्बिर प्यारो लाग्न थाल्यो ।

यो चैत्रको खडेरीमा
आफ्नै सन्तानले
फेसबुकको भित्तोमा टाँसिदिएको
आफनै तस्बिर हेरेर
आफैलाई प्रस्न गर्छु:
मेरो घरको पिढी किन मेरै सन्तानका यात्राहरुको बिसौनी हुन सकेन?
किन भर्न सकेन मेरो माटोमा उब्जेको कोदोले उनीहरुको पेट ?
किन मेटन सकेन मेरो झरनाको पानिले  मेरै सन्तानको तिर्खा ?
किन मेरै घडेरीमा बन्न सकेन मेरै सन्तानको घरको जग ?

निरुत्तर
फेसबुकको भित्तामा आफ्नै तस्बिर हेर्छु
र रुन्छु
भित्र कतै आफ्नै सन्तान प्रति
क्रोधको आगो पैदा हुन्छ
औलाले होइन मुड्कीले
फोटोको मुनि अनलाइक  बटन दबाउन मन लाग्छ
तर
आफ्नै सन्तानले तिरस्कृत गरेको मलाइ
फेसबुकले किन माया  गर्थ्यो र?
फोटो अनलाइक गर्ने बटम पनि राखिदिएनछ .

  © बिस्नु  प्रवा सापकोटा

     दमेक-१ बाग्लुङ

एउटा यात्रा

एउटा  यात्रा

एउटा  यात्रा ..... 

एक जोर लुगा हाल्न सके
अलिकती अन्न
र अलिकती नुनको जोहो गर्न सके
यो जाडो भरिओठबाट मुस्कानले 
भुइ झर्ने आँट गर्दैनथ्यो ।

अलिकती मट्टितेल ल्याउन पाए
साँझमा घर अँध्यारो त हुन्थेन । 

पुग्नु पर्ने टाढा छ । 

हजुरबुवा मलाई मध्यरातमै 
उठाएर भन्नु हुन्थ्यो 
बाबु!
उठ हिंड्ने बेला भो 

म भन्थें
यो औँसिको कालो रात
न टर्च लाइट छ
न उज्यालो दिने अरु केही चिज
बाटो निकै अफ्ठ्यारो छ
बिहान उज्ज्यालो भएपछी
हिड्दा हुँदैन हजुरबा?

हजुरबा मलाई सम्झाउनु हुन्थ्यो
हेर बाबु!  
हर लामो यात्रा अँध्यारोमै सुरु हुन्छ 
अँध्यारोमै
अफ्ठ्यारोमै हिंड्ने आँट गरे पो
उज्ज्यालो बोकेर फर्किन पाईन्छ घर   
उज्यालो होला र हिडुला भन्नेहरुलाई  
गन्तब्यमा नपुग्दै अर्को अँध्यारोले छोपीसक्छ । 

पुग्नु पर्ने टाढा छ । 

हजुर बुवा मलाई मध्यरातमै 
उठाएर भन्नु हुन्थ्यो
बाबु!
उठ हिंड्ने बेला भो 
हर लामो यात्रा अँध्यारोमै सुरु हुन्छ ।  

    
©बिस्नु प्रवा सापकोटा 
दमेक -१, बाग्लुङ 

२०७० श्रावण १७