Advertisement |
सुरक्षाकर्मीको लाठ्ठिचार्ज पछी
तितर बितर भएर
भागीरहेको भिड झैं
बादलका झुण्डहरु आकाशको
ओल्लो चोक र पल्लो चोक
भागीरहेछन ।
आफ्नो जवान लोग्ने मरेको खवरले
डाँको छोडेर रोइरहेकी युवती झैं
मेघ गर्जन सहित बर्षाका बुँदहरु
झरिरहेछन र हिलाईरहेछन धर्ती
भर्खर बुहारीले पोतेको आलो पिडीं झैं ।
बढी चिया पत्ति हालेको
दुध चिया जस्ता बाढिका लहरहरु
टिल्ल भएर घर फर्कदै गरेको जड्यहा झैं
यता उता कुदिरहेछन्
र चाटिरहेछन पहराको खिया ।
आफ्नै नङग्राले चोथिरेर
रक्ताम्मे पारेको
कुनै बहुलाहको अनुहार जस्तै
पैरोले कोतरेको छ पाहाड ।
बैष्णवको निधारमा टल्कीने
सेतो तिलक जस्तै
सेता खहरेहरु
पहाडको छातीबाट
झरिरहेछन ओरालै ओरालो ।
छिपछिपे पानी भरिएको
आफ्नै जिन्दगी जस्तो
बाँझो खेत
जोतीरहेछ हली दाई
र जिन्दगीका
सुख दुःख जस्ता थुम्का थुम्कीहरु
सम्माईरहेछन बाउसेहरु
र असारे भाका सुसेल्दै
सपना रोपिरहेछन खेतालाहरु ।
दमको रोगले थलिएर मरेका
साईला बाजेलाई
धाट पुराउन भन्दा
खेत हिलाउन बढी हतार छ
गाँउलेलाई
किनकी यो
असार हो ।
~ बिस्नु प्रवा सापकोटा
0 comments: