Thursday, May 6, 2010

~ फेसबूक आइ-डी ~

~ फेसबूक आइ-डी ~
लघु कथा

~ फेसबूक आइ-डी ~

जुन दिन उसले आफ्नो फेसबूकमा आइ.डि खोली उ कुनै नुतन आलो काँचो लेखकको कृति प्रसिद्ध प्रकाशनले छापिदिए जत्तिकै खुशी थीइ । किनकि उसलाई आफ्ना सिर्जनाहरु प्रस्तुत गर्ने मन्च भेटें जस्तो लागेको थियो ।

उ राम्रो कबिता लेख्थी । उसका कथाहरु पनि उस्तै राम्रा थिए तर उसको असली चिनारी त गीतकार थियो । साह्रै राम्रा गीतहरु रचना गर्थी उ । तर उसका गीतहरु केबल सिरानी अग्लो बनाउने बस्तुहरु बाहेक केही हुनसकेका थिएनन किनकी न उसले कुनै संगीतकारलाई चिनेकी थिइ, न कुनै साहित्तिक पत्रीकाको सम्पादकलाई ।

फेसबूकमा उसका सयौं साथीहरु भए । ति मध्ये एक लोकप्रिय गायक पनि थियो ।
एक दिन उसले आफ्नो फेसबूक नोटमा एक गीत गायकको नाममा ट्याग गरी ।
उसले प्रतिकृया लेख्यो "मलाई तपाईंको गीत साह्रै मनपर्यो मेरो आगामी एल्बममा म यो गीत गाउछु अनुमती छ?"
उसले गर्व साथ लेखिदीइ "छ।"
एक नयाँ गीतकारको लागि यो भन्दा बढी खुशीको खबर के हुन सक्थ्यो र ।
उसले गायकको फेसबूक इन बक्समा चिट्ठीहरु पठाइरही ।
उसले पठाएको हर चिठ्ठीको जवाफ दिन्थ्यो गायक पनि ।
गायकको नयाँ गीती एल्बम बजारमा आउने बेला नजिकिदै थियो।
उ आफ्नो गीतको काल्पनिक संगीत गुनगुनाउनामा ब्यस्त थीइ । अफ्ना चिनेजानेका सबैलाइ आफ्नो गीत बजारमा आउन लागेको प्रचार गरेकी थीइ ।
एक दिन कान्तिपुर दैनिकमा गायकको अन्तर्वाता छापियो । उसले पत्रीका किन्दा बित्तिकै अन्तर्वातामा नजर डुलाई । उसलाई लागेको थियो-"कतै मेरो बारेमा पनि बोलेको छ की?"
तर अन्तर्वाता नसक्दै ऊ छाँगाबाट खसे जस्तो बनी ।
गायकले अन्तर्वातामा भनेको थियो-"मेरो कुनै फेसबूक आइ.डि छैन । कुनै फटाहाले मेरो नाममा आइ.डि खोलेर मेरो बदनाम गरिरहेको छ । "

Saturday, May 1, 2010

गीत

गीत
उदास थियो घरको दैलो रुँदै थियो खरको छाना
तिमीलाई नै सोध्दै थिए गाँउघरका सबैजना ।।

बाटुलीले भन्दै थिइन्, सम्झि रुन्छु अधेंरीमा
हाँसो छैन हाँसो जस्तो, पानी छैन पधेंरीमा
माईला बाजे भन्दै थिए, गाँउ छैन गाँउ जस्तो
माझी बिना भूमरीमा तैरीएको नाउ जस्तो


चौतारीले भन्दै थियो झार पलायो काख माथि
छाँया बस्ने कोहि छैन,टाढा भयो हितको साथी
गोरेटोले भन्दै थियो, छाती माथि लेउ लाग्यो
पाराई आँउछ परेड खेल्दै आफ्नो भन्ने छेउ लाग्यो ।।

मुक्तक

मुक्तक
~1~
आकाशमाथि विश्वास गर दर्किनेछ कुनै दिन
त्यो बगेकै खोला होस् फर्किनेछ कुनै दिन
उल्टो-सुल्टो सुल्टो-उल्टो हुनेछ अवश्य
झुपडीसंग महल थर्किनेछ छ कुनै दिन ।।

~2~
सारा ग्रन्थहरुको सार नपढेसम्म
साहसी पाइलाहरु अधि नबढेसम्म
आँफूभित्रैको मान्छे जगाउन गाह्रो रैछ-
आँफूबिरुद्ध आफैं युद्ध नलडेसम्म ।।

~3~
कहिलै पनि नजितेको बाजी हूँ म
कहिलै काजी हुन नसकेको पाजी हूँ म
भुमरीमा डुङगा छ। भेलबीच साउनको–
एक्लै किनारामा उभिएको माझी हुँ म ।।

~4~
हिंड्दा-हिंड्दै बाटो भासियो कि कसो ?
शरीरभरि एजेरु टाँसियो कि कसो ?
धेरै भयो आँउछु भनी झुक्याएको तिम्ले-
साँच्चै गाँउको चोखो माया मासियो कि कसो ?

हावाले नै शीतलता दिन्छ, हावाले नै उडाउँछ पनि
पानीलेनै तिर्खा मेट्छ पानीलेनै फेरि बगाउँछ पनि
उज्याला अँध्यारा पाटाहरु कस्का हुदैनन् र माईली–
आगोले नै न्यानो दिन्छ फेरि आगोले नै डढाउछ पनि ।।

~6~
'बिनाबर्सात नै बाढी आयो' भन्यौ तिमीले
पिच रोडबीचमै झाडी आयो भन्यौ तिमीले
कनिकुथी लेखेको एउटा मुक्तक सुनाउँ भनेको
छेउ नपुग्दै साला गफाडी आयो भन्यौ तिमीले ।।